रासायनिक मलका लागि सरकारले रु १६ अर्ब अनुदान छुट्याएको छ: गृहमन्त्री खाण
काठमाडाैं | साउन २८, २०७९
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताउनुभएको छ ।
शुद्धोधन गाउँपालिका-५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पार्नुभयो ।
“रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौ”, उहाँले भन्नुभयो ।
अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “भारतले किनेको जति मूल्यमा हामीले ल्याउनुपर्छ । पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन । मलसम्बन्धी कारखाना खोलौँ भने समय लाग्छ । कारखाना सहज छैन । ठूलो ऊर्जाको आवश्यकता पर्छ”, गृहमन्त्री खाणले भन्नुभयो ।
अर्को प्रसङ्गमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पार्नुभयो । नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्व गर्न नहुने उहाँको भनाइ छ ।
शुद्धोधनसहित रुपन्देहीको विकास सबैको चाहना भएको उल्लेख गर्दै उहाँले शुद्धोधनको विकासको प्रतिफल रुपन्देहीले प्राप्त गर्नेगरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो । सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विकास निर्माण अघि बढाउँदा विभिन्न जाति, धर्म र सम्प्रदायका नागरिकको संस्कारअनुसार फरकफरक रहेकाले सोहीअनुसारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “उद्यान विकासको अपूर्व आधारशिला हो । विकास भनेर बाटो मात्रै बनाएर हुँदैन, बाटोघाटो, नदीनाला, सिँचाइसँगै पार्कको पनि जरुरी छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोधनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभाका सदस्य तुल्सी चौधरी र पुष्पा थरुनीले उद्यान निर्माणमा अवरोध सिर्जना भए पनि सम्पन्न भएपछि पालिकाको पहिचान बनेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तीदेवी ज्ञवाली लगायतले उक्त उद्यानको विकास र सौन्र्दयीकरणका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । गाउँपलिकाका प्रवक्ता केशवप्रसाद अधिकारीका अनुसार मानपकडीमा निर्माण गरिएको शुद्धोधन उद्यानमा जिराफ, सिंह, बाघ, चितुवा, गैडा, कङ्गारु, उट, डाइनोसरलगायत जनावर र चराका आकृतिका मूर्ति राखिएका छन् ।
किनारमा पाम ट्री, गौतमबुद्धको मूर्ति र वाटर फाउण्टेनले उद्यानलाई थप आकर्षक बनाएको छ । उद्यानको छेवैमा रहेको सुखली घोलामा बाँध बनाई पानी जम्मा गरिएको छ । उद्यान अवलोकनका लागि आउने आगन्तुकलाई त्यहाँ डुङ्गा शयर गराउने गाउँपालिकाको योजना रहेको छ । शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराइले रु तीन करोडको गुरुयोजना बनाएर उद्यान निर्माण गरिएको जानकारी दिनुभयो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

